२५ जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रण गरी दाह्रा काटिने


२५ जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रण गरी दाह्रा काटिने
  • नवकिरण
  • अषाढ २४, २०८३

चितवन, असार २४ – चितवन राष्ट्रिय निकुञ्जमा आतंक मच्चाउँदै आएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा छोट्याउने तयारी गरिएको छ । मानिसमाथि पटक–पटक आक्रमण गरेको उक्त हात्तीलाई नियन्त्रण गरी नयाँ रेडियो कलरसमेत जडान गर्ने तयारी भइरहेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार ध्रुवेलाई भेटिएपछि डार्ट गरेर बेहोस बनाइनेछ । त्यसपछि दाह्रा काट्ने र घाँटीमा नयाँ रेडियो कलर लगाउने प्रक्रिया अघि बढाइनेछ ।

गत शनिबार राति भरतपुर महानगरपालिका–२३ मा ध्रुवे हात्तीको आक्रमणबाट २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएको थियो । यो घटनापछि ध्रुवेको निगरानी अझ कडा बनाइएको छ ।

निकुञ्जका अनुसार ध्रुवेले हालसम्म २५ जनाको ज्यान लिइसकेको छ । सोमबार साँझ समेत मेघौलीको गोलाघाटस्थित सामुदायिक वन क्षेत्रमा पुगेको ध्रुवेले स्थानीय दुई घरमा क्षति पुर्‍याउँदै अन्न खाएको थियो ।

पुरानो रेडियो कलरले प्रभावकारी सूचना दिन नसकेपछि नयाँ उपकरण ल्याइएको हो । नयाँ रेडियो कलर जडान भएपछि हात्तीको गतिविधि तत्काल थाहा पाउन र जोखिम क्षेत्रमा रहेका नागरिकलाई समयमै सचेत गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

ध्रुवे हात्ती यसअघि पनि नियन्त्रण प्रयासमा परेको थियो । दुई वर्षअघि यसको दाह्रा काटिएको थियो भने घाँटीमा रेडियो कलरसमेत राखिएको थियो । २०६६ सालदेखि मानिसमाथि आक्रमण गर्न थालेको ध्रुवेले २०६९ सालसम्म आइपुग्दा १५ जनाको ज्यान लिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवेसहित रोनाल्डो र गोविन्दे नामका जंगली भाले हात्ती रहेका छन् । निकुञ्जभित्र करिब ४५ देखि ५० वटा जंगली हात्ती रहेको निकुञ्ज प्रशासनले जनाएको छ । ध्रुवेको आक्रमणबाट क्षति भएको घर पुनर्निर्माणका लागि पनि प्रक्रिया अघि बढाइएको छ ।