काठमाडौं, असार २४ – इजिप्टविरुद्धको रोमाञ्चक खेलमा अर्जेन्टिनाले पुनरागमन जित निकालेपछि कप्तान ले आफ्नो पेनाल्टी असफल भएको क्षण सम्झिएका छन्।
खेलको पहिलो हाफमा मेसीले पाएको पेनाल्टी अवसर सदुपयोग गर्न सकेनन्। उनको प्रहारलाई इजिप्टका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए। महत्वपूर्ण समयमा गोल गर्न नसक्दा आफू निकै निराश बनेको मेसीले बताएका छन्।
“त्यो पेनाल्टीपछि म आफैँसँग निकै रिसाएको थिएँ। मैले जसरी प्रहार गरेँ, त्यसबाट सन्तुष्ट थिइनँ। त्यस्तो अवस्थामा टोलीलाई निराश बनाएको महसुस भएको थियो,” मेसीले भने।
तर खेलको अन्त्यतिर उनले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काउन महत्वपूर्ण भूमिका खेले। पेनाल्टी गुमाएको पीडा गोलपछि कम भएको र ठूलो राहत महसुस गरेको उनको भनाइ छ।
“भगवानले खेलको अन्त्य फरक तरिकाले लेख्नुभएको रहेछ। मैले बराबरी गोल गर्न सकेँ, त्यसपछि निकै खुसी र राहत महसुस भयो,” मेसीले प्रतिक्रिया दिए।
मेसीले अर्जेन्टिनी टोलीको विशेषता नै कठिन अवस्थामा पनि हार नमान्नु रहेको बताए। दुई गोलले पछि पर्दा पनि खेलमा फर्किन सक्नु टोलीको आत्मविश्वास र दृढताको प्रमाण भएको उनले बताए।
इजिप्टमाथिको जितसँगै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले अन्तिम आठमा स्विट्जरल्याण्डको सामना गर्नेछ।
