मनसुन थप सक्रिय हुँदै, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी


मनसुन थप सक्रिय हुँदै, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी
  • नवकिरण
  • अषाढ २५, २०८३

काठमाडौं, असार २५ – देशका अधिकांश भूभागमा आज हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। तर भोलिदेखि आइतबारसम्म पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलहरूले पश्चिम नेपालमा ठूलो वर्षाको संकेत देखाएका छन्। यद्यपि वर्षा हुने स्थान र मात्रामा फरक पर्न सक्ने भएकाले सबै क्षेत्रमा एउटै अवस्था नहुन सक्ने उनले बताएका छन्।

उनले केही स्थानमा पूर्वानुमानभन्दा बढी र केही ठाउँमा कम वर्षा हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने र नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहनुपर्ने मौसम विद्हरूको भनाइ छ।

यसैबीच, पूर्वी नेपालको तराई क्षेत्रमा भने अपेक्षाकृत कम वर्षा भइरहेको छ। मौसम प्रणाली सक्रिय रहे पनि तराईका धेरै स्थानमा अपेक्षित मात्रामा पानी पर्न सकेको छैन।

मौसमविद् पोखरेलका अनुसार पहाडी भूभागले बादललाई माथि उठाउन सहयोग गर्ने भएकाले पहाड क्षेत्रमा बढी वर्षा हुने गर्छ। तर समथर तराई क्षेत्रमा बादल बने पनि पर्याप्त उचाइ नपाउँदा वर्षा कम हुने अवस्था देखिएको हो।