‘आर्थिक वर्षको पहिलो दिनदेखि विकासको काम सुरु गरौँ’ : सांसद गजुरेल


‘आर्थिक वर्षको पहिलो दिनदेखि विकासको काम सुरु गरौँ’ : सांसद गजुरेल
  • नवकिरण
  • अषाढ २५, २०८३

काठमाडौं, असार २५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले नयाँ आर्थिक वर्ष सुरु भएसँगै बजेट कार्यान्वयनलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजेट पारित भइसकेकाले अब ढिलाइ नगरी विकास आयोजनाका काम अघि बढाउनुपर्ने बताए।

सांसद गजुरेलले आगामी साउन १ गतेदेखि नै विकास निर्माणका योजनाका लागि टेण्डर प्रक्रिया सुरु गर्नुपर्ने धारणा राखे। उनले आर्थिक वर्षको अन्त्यमा मात्र खर्च गर्ने पुरानो प्रवृत्तिले विकास निर्माण प्रभावित भएको भन्दै सुरुवातदेखि नै स्पष्ट योजना बनाएर अघि बढ्न सरकारलाई सुझाव दिए।

उनका अनुसार समयमै बोलपत्र आह्वान गरी आयोजना कार्यान्वयनमा लगिए मात्रै पुँजीगत खर्च बढाउन सकिन्छ। उनले कमजोर पुँजीगत खर्चका कारण सरकारको कार्यक्षमतामाथि प्रश्न उठ्ने गरेको पनि बताए।

“साउन १ गतेदेखि नै गोरखापत्रका पानाहरू विकास निर्माणका टेण्डर सूचनाले भरिनुपर्छ,” उनले भने, “आवश्यक परे थप पाना राखेर भए पनि विकास आयोजनाका सूचना प्रकाशित गर्नुपर्छ।”

उनले विगतका कमजोरी सुधार्दै बजेट कार्यान्वयनमा सरकार जिम्मेवार बन्नुपर्ने बताए। स्पष्ट कार्ययोजना बिना अघि बढ्दा फेरि पनि कम पुँजीगत खर्च हुने र जनतामाझ नकारात्मक सन्देश जाने उनको चेतावनी थियो।