काठमाडौं, असार २६ – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनाबारे एक प्रत्यक्षदर्शीले घटनाको फरक विवरण सार्वजनिक गरेकी छन्। घटनास्थलमा रहेकी रन्जु ढकालले महानगर प्रहरी र गणेशबीच मोटरसाइकल पार्किङको विषयलाई लिएर लामो विवाद भएको बताएकी छन्।
ढकालका अनुसार गणेशले केही समयका लागि मात्रै मोटरसाइकल रोकेका थिए। महानगर प्रहरीले नो पार्किङ भन्दै बाइक हटाउन भनेपछि गणेशले आफू तुरुन्तै जाने बताएको तर त्यसपछि पनि मोटरसाइकलमा ह्विल लक लगाइएपछि विवाद चर्किएको उनको भनाइ छ।
उनले विवाद करिब एक घण्टासम्म चलेको बताउँदै पछि अन्य प्रहरीसमेत घटनास्थलमा आएर छलफल भएको जानकारी दिइन्।
प्रत्यक्षदर्शी ढकालका अनुसार छलफल भइरहेकै बेला गणेशले अचानक शरीरमा पेट्रोल खन्याएर दौडिएका थिए। “पेट्रोलका छिट्टा मेरो हातमा पनि परे। मसँग सानो बच्चा थियो, त्यसैले ज्यान जोगाउन भवनतर्फ भागेँ,” उनले भनिन्।
आगो लागेपछि उद्धारमा ढिलाइ भएको भन्दै उनले महानगर प्रहरीको आलोचना गरेकी छन्। उनका अनुसार गणेश आगोले जलेर ढलिसक्दा पनि प्रहरी टोली मोटरसाइकल व्यवस्थापनमा लागेको देखिएको थियो। स्थानीय व्यक्तिहरूले पानी ल्याएर आगो निभाएपछि मात्र उद्धार प्रक्रिया अघि बढेको उनको दाबी छ।

उनले घटनाको वास्तविकता पत्ता लगाउन घटनास्थलको सीसीटीभी फुटेज सार्वजनिक गरी अनुसन्धान गर्न माग गरेकी छन्। पार्किङ नियम उल्लंघन भए पनि विवादलाई नियन्त्रण गर्न सबै पक्षले संयमता अपनाउनुपर्ने उनको भनाइ छ।
गणेश नेपालीको आत्मदाह प्रयासपछि उनको उपचार भइरहेको छ। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।
