काठमाडौँ, असार २७ – लगातारको वर्षाका कारण कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ बस्दै आएका ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गरिने भएको छ ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण होल्डिङ सेन्टरमा बाढी पसेपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।
समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार बाढीका कारण जोखिम बढेपछि प्रभावित परिवारलाई खरीपाटीस्थित होल्डिङ क्षेत्रमा व्यवस्थापन गर्न लागिएको हो । उनका अनुसार त्यहाँ आवश्यक ठाउँ खाली गराइसकिएको छ र प्रभावित परिवारलाई सुरक्षित रूपमा लैजाने तयारी भइरहेको छ ।
यसअघि समितिले होल्डिङ सेन्टर खाली गर्न आग्रह गर्दै सुकुमबासी परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ राहत तथा पुनर्स्थापनाका लागि उपलब्ध गराएको थियो । आफैँ व्यवस्थापन गर्न सक्ने परिवारलाई कोठा खोजेर बस्न र असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई सरकारी व्यवस्थापनमा सुरक्षित स्थानमा राख्ने योजना बनाइएको थियो ।
तर केही परिवारले तत्काल स्थान छाड्न नमानेपछि उनीहरू त्यहीँ बसिरहेका थिए । अहिले भने बाढीका कारण जोखिम बढेपछि सबै प्रभावित परिवारलाई स्थानान्तरण गर्न लागिएको समितिले जनाएको छ ।
महर्जनले सुरक्षित स्थानमा सारिएपछि प्रभावित परिवारको आवश्यक व्यवस्थापन मिलाइने जानकारी दिए । लगातारको वर्षाका कारण उपत्यकाका विभिन्न क्षेत्रमा डुबान र जोखिम बढ्दै गएको छ ।
