काठमाडौं, असार २७ – आत्मदाह प्रयास गरेका व्यवसायी अश्विनकुमार राउतको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको छ । उनको काठमाडौंस्थित ट्रमा सेन्टरको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।
राउत क्षेत्री सेवा समाजका सचिव रोशन राउतका अनुसार अश्विनको हालसम्म होस खुलेको छैन । स्वास्थ्य अवस्था जटिल रहेकाले चिकित्सकको निगरानीमा उपचार जारी रहेको उनले जानकारी दिए ।
परिवारले थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लैजान माग गरे पनि स्वास्थ्य अवस्थाको जोखिमलाई ध्यानमा राख्दै चिकित्सकले तत्काल अनुमति दिएका छैनन् ।
यसअघि अश्विन राउत भारतमा नशासम्बन्धी समस्याको उपचार गराएर नेपाल फर्किएका थिए । उपचारपछि उनी हिँडडुल गर्दा केही समस्या देखिएको बताइएको छ ।
घटनाको कारणबारे विभिन्न चर्चा भए पनि पारिवारिक विवादका कारण आत्मदाह प्रयास गरेको भन्ने कुरा सत्य नभएको समाजका सचिव रोशन राउतले दाबी गरेका छन् ।
