गोरखा, असार २७ – गोरखामा गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण भएका दुई वटा मोटरेबल पुल निर्धारित समयभन्दा अगावै सम्पन्न भएका छन् । गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ जोड्ने लुदी खोला पुल तथा पालुङटार नगरपालिका–९ स्थित चुक्ति खोला पुल समयअगावै निर्माण सम्पन्न भएका हुन् ।
शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुवै पुलको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा उनले विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्दै आवश्यक बजेटको अभाव हुन नदिने बताए ।
स्याउली बजार हुँदै मनकामना जाने सडकखण्डमा निर्माण भएको लुदी खोला पुलको लागत ७ करोड ५९ लाख रुपैयाँ रहेको छ । उक्त पुल निर्माणका लागि २०८२ साल असार २२ गते गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एन्ड बिल्डर्स प्रालिसँग सम्झौता भएको थियो । दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको पुल एक वर्षअघि नै सम्पन्न भएको हो ।
पूर्वाधार विकास कार्यालयका अनुसार प्री–स्ट्रेस टी–बिम प्रविधिमा बनेको उक्त पुलको लम्बाइ ३० मिटर र चौडाइ ८ दशमलव ४० मिटर रहेको छ । समयभन्दा अगावै निर्माण सम्पन्न गरेको भन्दै निर्माण कम्पनीका सञ्चालक राजेन्द्र थपलियालाई कदरपत्रसहित सम्मान गरिएको छ ।
यस्तै, पालुङटार नगरपालिका–९ शेरास्थित चुक्ति खोला पुल ३ करोड ४२ लाख रुपैयाँ लागतमा निर्माण भएको हो । २०८२ साल असार २२ गते अमृत कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको उक्त पुलको निर्माण आगामी पुससम्म सक्ने लक्ष्य भए पनि ६ महिनाअघि नै पूरा भएको कार्यालयले जनाएको छ ।
२० मिटर लम्बाइ र ८ दशमलव ४० मिटर चौडाइ रहेको यस पुलबाट पालुङटारका वडा नम्बर ६, ९, १० तथा गोरखा नगरपालिका–१२ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । पुल बनेपछि स्थानीय सडकमा वर्षभरि सवारी सञ्चालन सहज हुने र कृषि उत्पादन बजारसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मुख्यमन्त्री पाण्डेले पुल निर्माणले मनकामना जाने यात्रालाई समेत सहज बनाउने बताए । उनले स्थानीय उत्पादन बढाउँदै बजारसँग जोड्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारका योजनामा बजेट अभाव नहुने भएकाले निर्माण व्यवसायीलाई गुणस्तरीय काम गर्न आग्रह गरे ।
