गणेश नेपाली प्रकरणमा समाधान खोज्दै सरकार, सहमति नहुँदा शव परीक्षण हुन सकेन


गणेश नेपाली प्रकरणमा समाधान खोज्दै सरकार, सहमति नहुँदा शव परीक्षण हुन सकेन
  • नवकिरण
  • अषाढ २८, २०८३

काठमाडौँ, असार २८ – आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीको शवको पोस्टमार्टम प्रक्रिया अझै अघि बढ्न सकेको छैन । परिवार र सरकारबीच सहमति हुन नसक्दा त्रिवि शिक्षण अस्पतालमा राखिएको शवको परीक्षण रोकिएको हो ।

गणेश नेपालीले असार २५ गते काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए । गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनापछि उनका परिवार र सरकारी प्रतिनिधिबीच शनिबारदेखि छलफल भइरहेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार परिवारसँग वार्ता जारी रहेको र समाधान खोज्ने प्रयास भइरहेको छ ।

काठमाडौँ महानगरपालिकाले मृतक गणेश नेपालीको परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ । महानगरले परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने तथा सन्तानको शिक्षाका लागि सहयोग गर्ने जनाएको छ ।

मोटरसाइकल पार्किङको विषयमा महानगर प्रहरीसँग भएको विवादपछि गणेशले आत्मदाह प्रयास गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन डीआईजी गोविन्द थपलियाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।