जाजरकोटमा पहिरोले टहरा बगाउँदा महिलाको मृत्यु, छोरी र नातिनीको ज्यान बचाइयो


जाजरकोटमा पहिरोले टहरा बगाउँदा महिलाको मृत्यु, छोरी र नातिनीको ज्यान बचाइयो
  • नवकिरण
  • अषाढ २९, २०८३

जाजरकोट, असार २९ – जाजरकोटको भेरी नगरपालिका–२ राङ्सीमा पहिरोका कारण एक महिलाको ज्यान गएको छ भने दुई जनालाई सकुशल उद्धार गरिएको छ।

प्रहरीका अनुसार लगातारको वर्षापछि टहरामाथिबाट आएको पहिरोले अस्थायी बसोबासका लागि बनाइएको टहरा पुरिएको थियो। उक्त घटनामा करिब ६० वर्षीया जयशीला शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा फसेकी शाहकी ४० वर्षीया छोरी मेनुका थापा र ७ वर्षीया नातिनी टिका थापालाई भने उद्धार टोलीले जीवितै बाहिर निकालेको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

वर्षायामसँगै पहाडी जिल्लामा पहिरोको जोखिम बढ्दै गएकाले जोखिमयुक्त स्थानमा बसोबास नगर्न र आवश्यक सतर्कता अपनाउन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।