काठमाडौं, असार २९ – जेनजी अभियानका संयोजक माजिद अन्सारीले आफूलाई पक्राउ गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको र त्यसपछि आफ्नो जीवन तथा स्वतन्त्रता असुरक्षित बनेको बताएका छन्। हाल शिक्षण अस्पतालमा उपचाररत अन्सारीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पक्राउ प्रक्रियामाथि प्रश्न उठाएका हुन्।
अन्सारीका अनुसार शनिबार साँझ कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिने क्रममा आफूलाई लछारपछार गर्दै कुटपिट गरिएको र त्यसबाट शरीरका विभिन्न भागमा चोट लागेको उनले उल्लेख गरेका छन्।
उनले अहिलेसम्म आफूलाई किन पक्राउ गरिएको हो भन्ने जानकारी नदिइएको, पक्राउ पुर्जीसमेत नदेखाइएको र कानुनी प्रक्रिया पालना नभएको आरोप लगाएका छन्। आफ्नो पक्राउको कानुनी आधार स्पष्ट पार्न उनले सरकार र नेपाल प्रहरीसँग माग गरेका छन्।
अन्सारीले गृहमन्त्री र प्रहरी नेतृत्वसँग घटनाको जवाफदेहिता माग्दै आफ्नो सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। साथै प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरू तथा मानव अधिकारकर्मीहरूलाई घटनामा चासो दिन आग्रह गरेका छन्।
यस विषयमा अन्सारीले लगाएका आरोपप्रति सम्बन्धित सरकारी निकायको आधिकारिक प्रतिक्रिया भने हालसम्म सार्वजनिक भएको छैन।
