अविरल वर्षाको असर : बाढी–पहिरोमा ६ जनाको मृत्यु, १३ भन्दा बढी मुख्य राजमार्ग बन्द


अविरल वर्षाको असर : बाढी–पहिरोमा ६ जनाको मृत्यु, १३ भन्दा बढी मुख्य राजमार्ग बन्द
  • नवकिरण
  • अषाढ ३०, २०८३

काठमाडौं, असार ३० – निरन्तरको वर्षासँगै आएको बाढी–पहिरोले देशभर जनजीवन प्रभावित बनेको छ। हालसम्म ६ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

प्राकृतिक विपद्का कारण देशभरका १३ भन्दा बढी मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। केही सडकमा पहिरो हटाउने काम भइरहे पनि वर्षा नरोकिएकाले यातायात सहज हुन सकेको छैन।

बीपी राजमार्ग, मेची राजमार्ग, कान्ति लोकपथ, अरनिको राजमार्ग, मदन भण्डारी राजमार्गलगायतका सडक खण्डमा सवारी आवागमन ठप्प भएको छ। मध्यपहाडी र सिद्धार्थ राजमार्गमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

वर्षाका कारण रामेछाप, ताप्लेजुङ, उदयपुर, सप्तरी, काठमाडौं, काभ्रे, हुम्ला र कर्णाली प्रदेशका विभिन्न स्थानमा बाढी तथा पहिरोका घटना भएका छन्। नदीको जलस्तर बढेसँगै तटीय बस्तीमा जोखिम थपिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा नजान र अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। स्थानीय प्रशासनलाई पनि सतर्कता बढाउन निर्देशन दिइएको छ।

नेपाल प्रहरी र सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामलाई तीव्र बनाएका छन्। अवरुद्ध सडक खुलाउने प्रयास जारी रहे पनि मौसमले चुनौती थपेको छ।

मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन भारी वर्षाको सम्भावना रहेकाले नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।