काठमाडौं, असार ३१ – कृषि उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरूले बुधबार माइतीघर मण्डलामा गोलभेँडा फ्याँकेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमार्फत किसानहरूले कृषि क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका हुन्।
प्रदर्शनमा सहभागी किसानहरूले बजारमा बिचौलियाको दबदबा बढ्दा किसानले उत्पादनको लागतसमेत उठाउन नसकेको गुनासो गरे। किसान बम तामाङले किसानले पसिना बगाएर उत्पादन गरेको तरकारीको उचित मूल्य नपाउँदा आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए।
किसानहरू विभिन्न स्थानबाट गोलभेँडा बोकेर माइतीघर पुगेका थिए। उनीहरूले सडकमै गोलभेँडा पोख्दै सरकारको ध्यान कृषि क्षेत्रतर्फ केन्द्रित गराउन खोजेका हुन्।
प्रदर्शनका क्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको आलोचना गर्दै नाराबाजी गरिएको थियो। किसानहरूले गोलभेँडालगायत तरकारीको न्यूनतम समर्थन मूल्य निर्धारण, कृषि बिमा प्रभावकारी रूपमा लागू गर्ने तथा बिचौलियाको प्रभाव अन्त्य गर्नुपर्ने माग राखेका थिए।
कृषि क्षेत्रलाई सम्मानजनक र सुरक्षित बनाउने नीति तत्काल लागू गर्नुपर्ने भन्दै प्रदर्शनकारीहरूले चेतावनी दिए कि आफ्ना माग सम्बोधन नभए आन्दोलनलाई देशव्यापी रूपमा थप सशक्त बनाइनेछ।
