पूर्ण कागजात भए १५ मिनेटमै नागरिकता दिन गृहमन्त्री गुरुङको निर्देशन


पूर्ण कागजात भए १५ मिनेटमै नागरिकता दिन गृहमन्त्री गुरुङको निर्देशन
  • नवकिरण
  • श्रावण २, २०८३

गोरखा, साउन २ – गृहमन्त्री सुधन गुरुङले आवश्यक प्रक्रिया पूरा गरेर आएका सेवाग्राहीलाई १५ मिनेटभित्र नागरिकता उपलब्ध गराउने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय गोरखालाई निर्देशन दिएका छन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालयको अनुगमन गर्दै मन्त्री गुरुङले नागरिकले सरकारी सेवा लिन अनावश्यक झन्झट र लामो समय कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले प्रशासनिक सेवा छिटो, सहज, पारदर्शी र नागरिकमैत्री बनाउन कर्मचारीलाई निर्देशन दिएका हुन्।

उनले आवश्यक कागजात पूरा गरेका नागरिकलाई तत्काल सेवा दिनुपर्ने उल्लेख गर्दै ढिलासुस्ती र प्रक्रियागत जटिलताका कारण सेवाग्राहीले दुःख पाउने अवस्था स्वीकार्य नहुने बताए।

अनुगमनका क्रममा मन्त्री गुरुङले कार्यालयको सेवा प्रवाह, कर्मचारीको कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवाग्राहीबाट प्राप्त गुनासोको अवस्थाबारे समेत जानकारी लिएका थिए।

गृहमन्त्रीले प्रभावकारी सेवा प्रवाहलाई सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै नागरिकको विश्वास बढ्ने गरी प्रशासनिक कार्यसम्पादन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्।