पोखरा, साउन ३ – अविरल वर्षाका कारण पोखराको सेती नदीमा ठूलो पहिरो खस्दा नदीको बहाव प्रभावित भएको छ। पोखरा महानगरपालिका–१५ र १७ को बीचमा पर्ने रातोपहिरो क्षेत्रमा नदी किनार भासिएपछि आएको पहिरोले नदीको एक भाग थुनिएको हो।
घटनाबारे जानकारी पाएलगत्तै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी प्रमुख एसपी नवीन कार्की तथा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोली घटनास्थल पुगेर स्थलगत अनुगमन गरेको छ।
पहिरोका कारण नदीको पानी सहज रूपमा बग्न नसक्दा माथिल्लो क्षेत्रमा पानी जम्न थालेको छ। प्रारम्भिक जानकारीअनुसार पानीको सतह करिब ५० मिटरले बढेको बताइएको छ, जसले आसपासका क्षेत्रमा थप जोखिम निम्त्याउन सक्ने अनुमान गरिएको छ।
प्रशासनले नदी आसपासका बासिन्दालाई अनावश्यक रूपमा नदी किनारमा नजान र सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरेको छ। पहिरोको अवस्था र नदीको बहावबारे सम्बन्धित निकायले निरन्तर निगरानी गरिरहेको जनाएको छ।
