शिक्षामन्त्रीको राजीनामा माग्दै संसद्तर्फ अघि बढेका प्रदर्शनकारीमाथि प्रहरीको लाठीचार्ज, दिल्ली तनावग्रस्त


शिक्षामन्त्रीको राजीनामा माग्दै संसद्तर्फ अघि बढेका प्रदर्शनकारीमाथि प्रहरीको लाठीचार्ज, दिल्ली तनावग्रस्त
  • नवकिरण
  • श्रावण ४, २०८३

काठमाडौं, साउन ४ – भारतको राजधानी नयाँ दिल्लीमा कक्रोच जनता पार्टी (सीजेपी) को संसद् मार्चका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्दा कैयौँ प्रदर्शनकारी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै आइतबार रातिदेखि जन्तर–मन्तरमा भेला भएका प्रदर्शनकारीहरू सोमबार बिहान संसद्तर्फ अघि बढेका थिए। उनीहरूले सुरक्षा ब्यारिकेड हटाउन खोजेपछि प्रहरीसँग तनाव उत्पन्न भएको थियो।

प्रहरीले संसद्को मनसुन अधिवेशन चलिरहेका कारण मार्चको अनुमति नदिइएको जनाएको छ। संसद् क्षेत्रको सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी र र्‍यापिड एक्सन फोर्स परिचालन गरिएको थियो।

लाठीचार्जपछि केहीबेर भागदौडको अवस्था सिर्जना भएको थियो। प्रदर्शनकारीहरूले शिक्षा प्रणाली सुधार र आफ्ना माग सम्बोधन गर्न सरकारसँग दबाब दिँदै नाराबाजी जारी राखेका थिए।

यता, संसद्भित्र विपक्षी दलहरूले प्रश्नपत्र चुहावट र विद्यार्थीमाथि भएको बल प्रयोगको विषय उठाउँदै सरकारको आलोचना गरेका छन्। विरोधका कारण राज्यसभा र लोकसभाको बैठक केही समयका लागि स्थगित गरिएको थियो।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्मा रचनात्मक र तथ्यमा आधारित बहस आवश्यक रहेको बताएका छन्। उनले भारतीय युवाको क्षमता र नवप्रवर्तनको प्रशंसा गर्दै देशको विकासमा युवाको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्।