काठमाडौं, साउन ६ – प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली हस्तकला उद्योगको विकास र अन्तर्राष्ट्रिय बजारमा यसको प्रतिस्पर्धात्मक क्षमता बढाउने विषयमा आज नेपाल हस्तकला महासङ्घका पदाधिकारीसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यका साथ विभिन्न उद्योग तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गरिरहेका प्रधानमन्त्री शाहले आज हस्तकला क्षेत्रका सरोकारवालासँग भेटवार्ता गर्न लागेका हुन्।
छलफलमा हस्तकला उद्योगले सामना गरिरहेका समस्या, उत्पादन र निर्यात अभिवृद्धिका सम्भावना, सरकारी सहयोग, नीतिगत सुधार तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।
बैठकमा नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न धाक्ख्वा तथा वरिष्ठ निर्यातकर्ता महेश्वर श्रेष्ठको सहभागिता रहने बताइएको छ।
सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने र उत्पादनमुखी उद्योगलाई प्रोत्साहन गर्ने नीति अघि बढाइरहेका बेला प्रधानमन्त्री र हस्तकला व्यवसायीबीच हुन लागेको यो संवादलाई हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि महत्त्वपूर्ण मानिएको छ।
