काठमाडौं, साउन ७ – त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवस समारोहका क्रममा शिक्षामन्त्री सस्मित पोखरेलको विरोध गर्दै युवाहरूले प्रदर्शन गरेका छन्। कीर्तिपुरमा आयोजित कार्यक्रममा पुगेका मन्त्रीविरुद्ध प्रदर्शनकारीहरूले ‘नेपो बेबी’ भन्दै नाराबाजी गरेका थिए।
प्रदर्शनका क्रममा प्रहरीले केही युवालाई नियन्त्रणमा लिएको छ। विरोधमा उत्रिएका युवाहरूले विश्वविद्यालयमा राजनीतिक प्रभाव अन्त्य गर्न, नियुक्ति तथा नेतृत्व छनोटमा योग्यता र प्रतिस्पर्धालाई प्राथमिकता दिन तथा मेरिटोक्रेसीको पूर्ण कार्यान्वयन गर्न माग गरेका छन्।
उनीहरूले विश्वविद्यालयको नेतृत्व संरचनामा पनि सुधार आवश्यक रहेको बताएका छन्। प्रधानमन्त्रीलाई कुलपति र शिक्षामन्त्रीलाई सहकुलपति बनाउने वर्तमान व्यवस्था हटाई विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त, स्वतन्त्र र स्वायत्त संस्थाका रूपमा सञ्चालन गर्नुपर्ने उनीहरूको भनाइ छ।
घटनापछि केही समय कार्यक्रमस्थलमा तनावको अवस्था सिर्जना भए पनि सुरक्षा व्यवस्था कडा बनाएर समारोहलाई निरन्तरता दिइएको थियो। पक्राउ परेका युवाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
