काठमाडौं, साउन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूलाई स्वकीय सचिव नियुक्त गर्दा नातावाद र परिवारवादलाई निरुत्साहित गर्ने उद्देश्यसहित नयाँ आन्तरिक निर्देशन जारी गरेको छ। पार्टीले एकाघरका सदस्य वा नजिकका आफन्तलाई स्वकीय सचिवका रूपमा नियुक्त नगर्न स्पष्ट निर्देशन दिएको हो।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको निर्देशनमा स्वकीय सचिवको छनोट खुला र प्रतिस्पर्धात्मक प्रक्रियाबाट मात्रै गर्नुपर्ने उल्लेख गरिएको छ। पारिवारिक सम्बन्धभन्दा योग्यता, क्षमता र कार्यदक्षतालाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ।
निर्देशनअनुसार स्वकीय सचिवका लागि उम्मेदवारले संघीय संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता अर्थात् स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। अनुसन्धान गर्ने क्षमता, प्रविधिको प्रभावकारी प्रयोग गर्न सक्ने सीप र पार्टीको विचार तथा मूल्यप्रति प्रतिबद्धता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने जनाइएको छ।
रास्वपाले समावेशी प्रतिनिधित्वलाई पनि जोड दिँदै योग्य महिला, सीमान्तकृत समुदाय तथा पछाडि पारिएका वर्गका उम्मेदवारलाई प्राथमिकतामा राख्न सांसदहरूलाई निर्देशन दिएको छ।
त्यस्तै, नियुक्त हुने स्वकीय सचिव अन्यत्र पूर्णकालीन रोजगारीमा आबद्ध हुन नपाउने र कुनै पनि प्रकारको दोहोरो आर्थिक सुविधा लिन नपाइने उल्लेख गरिएको छ। सांसदको जिम्मेवारीसँग स्वार्थ बाझिने अवस्था सिर्जना हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने पार्टीले स्पष्ट पारेको छ।
रास्वपाले यो व्यवस्थामार्फत स्वकीय सचिव नियुक्तिलाई थप पारदर्शी, निष्पक्ष र योग्यतामा आधारित बनाउने तथा राजनीतिक क्षेत्रमा नातावाद र परिवारवादको अभ्यास अन्त्य गर्ने लक्ष्य राखेको जनाएको छ।
