काठमाडौं, साउन ८ -पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले भदौ २४ गते भएको तोडफोड र आगजनीलाई गम्भीर आपराधिक घटना भन्दै त्यसमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा भएको ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचारगोष्ठीलाई सम्बोधन गर्दै उनले इतिहासका महत्वपूर्ण व्यक्तित्वहरूको शालिक तोडफोड र सार्वजनिक सम्पत्तिमा भएको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरे।
नेपालले पुष्पलाल, बीपी कोइराला, गणेशमान सिंह, मदन भण्डारीलगायतका राष्ट्रिय व्यक्तित्वका शालिकमाथि भएको आक्रमण अस्वीकार्य भएको उल्लेख गर्दै सिंहदरबारसहित सार्वजनिक सम्पत्तिमा भएको आगजनी र क्षतिलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने बताए।
उनले सरकारले दोषीलाई कानुनको दायरामा ल्याएर दण्डित गर्नुपर्नेमा जोड दिँदै यस्ता घटनामा राजनीतिक तमासा होइन, जिम्मेवार र प्रभावकारी कदम आवश्यक रहेको बताए। उनका अनुसार राष्ट्रिय सम्पत्तिमाथिको आक्रमणले मुलुकको अवस्था चिन्ताजनक बनेको संकेत गरेको छ।
माधव नेपालले वर्तमान अवस्थामा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच ध्रुवीकरणभन्दा पनि राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका मुद्दालाई केन्द्रमा राखेर साझा सोच विकास गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले वामपन्थी शक्तिहरूले आफ्ना विगतका कमजोरीको समीक्षा गर्दै नीति, व्यवहार, जीवनशैली र जनसम्पर्क सुधार गर्नुपर्ने बताए। सत्ता प्राप्त गरेपछि विदेशी शक्तिको दबाबमा झुक्ने सोच त्याग्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
नेपालले विदेशीका सकारात्मक अनुभवबाट सिक्न सकिने भए पनि राष्ट्रिय स्वार्थविपरीत कुनै पनि निर्णय स्वीकार गर्न नहुने धारणा राख्दै अतिवाद र आत्मसमर्पणवादी दुवै प्रवृत्ति त्यागेर नयाँ सोचका साथ अघि बढ्न सबै वामपन्थी शक्तिलाई आग्रह गरे।
