मुगु, साउन ९ – मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा एक ३ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब ४ बजे पेमा लामाको घरमा भाडामा बसेर होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया पत्नी सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको बेला माथिबाट आएको पहिरोले घर पुरेको थियो।
घटनापछि प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको टोलीले पहिरोमा च्यापिएका रमेशलाई तत्काल उद्धार गरी पुलु स्वास्थ्य चौकी पुर्याएको थियो। उपचारका क्रममा बिहान ५ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनामा घाइते भएका जगनाथ र सृजनाको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
पहिरोका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। थप पहिरो खस्ने जोखिम रहेकाले आसपासका आठ घरका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। स्थानीय प्रशासनले प्रभावित क्षेत्रको निगरानीका साथै आवश्यक सुरक्षा सतर्कता अपनाइएको जनाएको छ।
