काठमाडौं, साउन १० – प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा कार्यरत माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन्। सचिवालयभित्रको समग्र कार्यसम्पादन, आचरण र पछिल्ला विवादित घटनाको समीक्षा गरेपछि यस्तो निर्णय गरिएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग निकट स्रोतका अनुसार खनालसँग सम्बन्धित विभिन्न गुनासा र उनको कार्यशैलीबारे लगातार प्रश्न उठ्दै आएका थिए। विशेषगरी करिब डेढ महिनाअघि भएको राहदानी (पासपोर्ट) प्रकरणपछि उनको भूमिकालाई लिएर थप चर्चा र आलोचना भएको बताइएको छ।
स्रोतका अनुसार सचिवालयका सदस्यहरूबीच भएको छलफलमा खनाललाई टोलीमा निरन्तर राख्दा सरकार र प्रधानमन्त्रीको सचिवालयको छविमा नकारात्मक असर पर्ने निष्कर्ष निकालिएको थियो। त्यसपछि प्रधानमन्त्री शाहले पनि उक्त निर्णयमा सहमति जनाउँदै उनलाई जिम्मेवारीबाट अलग गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।
गत असार १ गते राहदानी विभागमा भएको घटनाका क्रममा खनालले विभागका अधिकारी तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिनिधिसँग आक्रामक व्यवहार गरेको आरोप लागेको थियो। त्यसयता पनि उनको आचरण र केही व्यक्तिगत गतिविधिसम्बन्धी उजुरी प्रधानमन्त्री कार्यालयमा पुगेको स्रोतको दाबी छ।
यसै आधारमा सचिवालयले खनाललाई औपचारिक रूपमा जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। स्रोतका अनुसार उनलाई सो सम्बन्धी पत्रसमेत हस्तान्तरण गरिएको छ।
