कुटपिट र धम्कीको आरोपपछि कलाकार अशोक दर्जी प्रहरीको शरणमा, दुई जनाविरुद्ध उजुरी दर्ता


कुटपिट र धम्कीको आरोपपछि कलाकार अशोक दर्जी प्रहरीको शरणमा, दुई जनाविरुद्ध उजुरी दर्ता
  • नवकिरण
  • श्रावण ११, २०८३

काठमाडौं, साउन ११ – कलाकार तथा गायक अशोक दर्जीले आफूमाथि भएको कुटपिट र धम्कीको घटनामा संलग्न रहेको आरोप लगाउँदै दुई जनाविरुद्ध प्रहरीमा औपचारिक उजुरी दिएका छन्।

दर्जीले झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीमा अंकित प्रधानसहित दुई जनाविरुद्ध कानुनी कारबाहीको माग गर्दै निवेदन दर्ता गराएका हुन्।

आइतबार सामाजिक सञ्जालमा अशोक दर्जीमाथि कुटपिट भइरहेको भिडियो भाइरल भएपछि घटनाले व्यापक चर्चा पाएको थियो। भिडियो सार्वजनिक भएसँगै कलाकार, शुभेच्छुक तथा सर्वसाधारणले दोषीमाथि कडा कारबाही गर्न माग गरेका थिए।

उजुरीमा दर्जीले उक्त भिडियो करिब एक महिनाअघि नै खिचिएको र त्यसलाई सार्वजनिक नगर्न आफूले पटक–पटक आग्रह गरे पनि आरोपितहरूले नमानेको उल्लेख गरेका छन्। उल्टै भिडियो देखाएर आफूलाई बारम्बार धम्की दिइएको दाबी पनि उनले गरेका छन्।

फिल्म निर्मात्री नीता ढुंगानाले अशोक दर्जीले दिएको उजुरीको प्रतिलिपि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने माग गरेकी छन्। अशोक दर्जीले नीता ढुंगानाको निर्माणमा रहेको आगामी नेपाली चलचित्र ‘पार्वती’ मा समेत अभिनय गरेका छन्।

बालगायकका रूपमा चर्चा कमाएका दर्जी हाल झापामा बसोबास गर्दै आएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।