काठमाडौं, साउन ११ – एमालेसँग भएको पछिल्लो राजनीतिक सहमतिपछि देखिएको आन्तरिक असन्तुष्टिका बीच नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता माधव नेपालसँग सोमबार बिहान भेटवार्ता गरेका छन्। उनी नेपाललाई भेट्न कोटेश्वरस्थित निजी निवासमै पुगेका हुन्।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको तीनबुँदे सहमतिलाई लिएर माधव नेपालले असन्तुष्टि जनाउँदै आएका छन्। विशेषगरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने सहमतिप्रति उनले असहमति राखेका छन्।
स्रोतका अनुसार, उक्त विषयमा नेपालले आइतबार आफ्ना निकट नेताहरूसँग छुट्टै छलफल गरेका थिए। त्यसपछि उत्पन्न परिस्थितिबारे स्पष्ट पार्न र मतभेद कम गर्ने प्रयासस्वरूप प्रचण्डले सोमबार बिहान नेपालसँग लामो छलफल गरेका हुन्।
भेटका क्रममा एमालेसँग सहमति गर्ने प्रक्रियामा केही कमजोरी भएको स्वीकार गर्दै प्रचण्डले असन्तुष्ट पक्षको धारणा सुनेको स्रोतको दाबी छ। यद्यपि, भेटवार्ताको निष्कर्षबारे दुवै नेताले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।
एमाले–नेकपा सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले लिने समझदारी भएको छ। यही निर्णयले पार्टीभित्र मतभेद बढाएको चर्चा भइरहेको छ।
