रास्वपा बैठकमा विधान संशोधनलाई लिएर घम्साघम्सी, छानबिनको माग अस्वीकार गर्दै रविले लिए जिम्मेवारी


रास्वपा बैठकमा विधान संशोधनलाई लिएर घम्साघम्सी, छानबिनको माग अस्वीकार गर्दै रविले लिए जिम्मेवारी
  • नवकिरण
  • श्रावण १४, २०८३

काठमाडौं, साउन १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा विधान संशोधनको विषयलाई लिएर चर्को बहस भएको छ। केन्द्रीय सदस्य गणेश कार्कीले विधानमा महाधिवेशनबाट पारित व्यवस्था परिवर्तन गरिएको भन्दै छानबिन समिति गठनको माग गरेका छन्।

कार्कीले संसदीय दलको नेतासम्बन्धी प्रावधान परिवर्तन गरिएको आरोप लगाउँदै त्यसको जिम्मेवारीबारे स्पष्ट हुनुपर्ने बताएका थिए। उनको प्रस्तावमा केही केन्द्रीय सदस्यहरूले समर्थन जनाएका थिए।

प्रस्तावको प्रतिवाद गर्दै अर्का नेताहरूले महाधिवेशनकै क्रममा समूहगत गतिविधि गर्नेहरूले अहिले विधि र प्रक्रियाको विषय उठाउनु उचित नभएको धारणा राखे। त्यसक्रममा बैठकमा आरोप–प्रत्यारोपसमेत भएको बताइएको छ।

विवाद बढेपछि सभापति रवि लामिछानेले हस्तक्षेप गर्दै आफ्नै पार्टीका सदस्यविरुद्ध छानबिन समिति गठन गर्न नसक्ने स्पष्ट पारे। उनले सबै सदस्यलाई आफ्नो परिवारसरह ठान्ने भएकाले यस्तो निर्णय स्वीकार्य नहुने बताएका थिए।

बैठकमा मन्त्रीहरूले नियमित रूपमा पार्टी नेतृत्वलाई ब्रिफिङ गर्नुपर्ने प्रस्तावमा पनि फरक मत देखिएको थियो। केही नेताले यसले सरकार र पार्टीबीच दूरी बढाउन सक्ने चिन्ता व्यक्त गरे भने नेतृत्वले समन्वयका लागि आवश्यक रहेको जनाएको छ।

बैठकमा महाधिवेशन व्यवस्थापन, सचिवालय विस्तार र पार्टीको आन्तरिक एकताका विषयमा पनि छलफल भएको थियो। विभिन्न एजेन्डामा सदस्यहरूबीच मतभेद देखिए पनि छलफल जारी रहने जनाइएको छ।