राहदानी बनाउन सेवाग्राहीको ओइरो, त्रिपुरेश्वरमा बिहानैदेखि लामो लाइन


राहदानी बनाउन सेवाग्राहीको ओइरो, त्रिपुरेश्वरमा बिहानैदेखि लामो लाइन
  • नवकिरण
  • श्रावण १४, २०८३

काठमाडौं, साउन १४ – दक्षिण कोरियामा रोजगारीका लागि ईपीएसमार्फत आवेदन दिने तयारीमा रहेका युवाको संख्या बढेसँगै राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रूपमा बढेको छ। त्रिपुरेश्वरस्थित विभागमा बुधबार बिहानैदेखि राहदानी बनाउन र बुझ्न आउनेहरूको लामो लाइन देखिएको थियो।

बढ्दो भीडलाई मध्यनजर गर्दै राहदानी विभागले विद्युतीय राहदानी सेवा अस्थायी रूपमा दुई सिफ्टमा सञ्चालन गर्न थालेको छ। विभागका अनुसार साउन १४ देखि २२ गतेसम्म बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म दुई चरणमा सेवा प्रवाह गरिनेछ, जसबाट सेवाग्राहीले सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ।

पछिल्ला केही दिनयता ईपीएस आवेदन प्रक्रिया सुरु भएसँगै राहदानी बनाउनेको संख्या उल्लेख्य रूपमा बढेको विभागले जनाएको छ। दक्षिण कोरिया जान चाहने आवेदकका लागि राहदानी अनिवार्य कागजात भएकाले अधिकांश युवाहरू अहिले राहदानी बनाउन विभाग पुगेका छन्।

विभागले सार्वजनिक बिदाका दिन पनि सेवा नरोकिने जनाएको छ। शनिबार, आइतबार तथा अन्य बिदाका दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म विद्युतीय राहदानी सेवा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।

सेवाग्राहीको भीडलाई व्यवस्थित गर्दै समयमै राहदानी उपलब्ध गराउने उद्देश्यले अतिरिक्त समयसहित सेवा विस्तार गरिएको विभागले जनाएको छ। यसबाट ईपीएस आवेदनकर्तासहित अन्य सेवाग्राहीलाई पनि राहत पुग्ने अपेक्षा गरिएको छ।