सिरहा अशान्त: गोली लागेका किशोरको मृत्यु, कर्फ्यु कायमै


सिरहा अशान्त: गोली लागेका किशोरको मृत्यु, कर्फ्यु कायमै
  • नवकिरण
  • श्रावण १४, २०८३

सिरहा, साउन १४ – सिरहामा भएको हिंसात्मक झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार औरही गाउँपालिका–२ का करिब १५ वर्षीय गणेश यादवको उपचारका क्रममा ज्यान गएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले गणेश यादवको मृत्यु भएको जानकारी प्रशासनले प्राप्त गरेको पुष्टि गरेका छन्। उनले घटनासम्बन्धी थप विवरण संकलन भइरहेको र आधिकारिक जानकारी क्रमशः सार्वजनिक गरिने बताए।

घटनापछि सुरक्षा अवस्था थप कडा बनाइएको छ। सम्भावित थप अप्रिय घटना रोक्न प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो परिचालन गरिएको प्रशासनले जनाएको छ।

तनावपूर्ण अवस्था कायम रहेपछि जिल्ला प्रशासन कार्यालयले सिरहाका विभिन्न स्थानमा जारी गरेको कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ। स्थानीयलाई घरबाहिर ननिस्कन तथा प्रशासनले जारी गरेका निर्देशनको पालना गर्न आग्रह गरिएको छ।

यस घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। झडप कसरी सुरु भयो र गोली चल्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सुरक्षा निकायले प्रमाण संकलन गरिरहेको छ। प्रशासनले सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचनामा विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।