काठमाडौं, साउन १५ – पछिल्ला दिनहरूमा सुनसरी, सिराहालगायत जिल्लामा देखिएको तनावपूर्ण अवस्थाप्रति चासो व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विभिन्न धार्मिक समुदायका अगुवासँग भेटघाट तथा छलफल गरेका छन्।
शुक्रबार पार्टीको संसदीय दल कार्यालयमा आयोजित छलफलमा उनले मुस्लिम समुदायका मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग वर्तमान परिस्थितिबारे विचार आदानप्रदान गरेका थिए। त्यसपछि उनले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि छुट्टै भेटवार्ता गरेका हुन्।
भेटका क्रममा देशका विभिन्न स्थानमा भइरहेका प्रदर्शन र त्यसबाट उत्पन्न हुन सक्ने सामाजिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै लामिछानेले धार्मिक अगुवाहरूलाई शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश समुदायसम्म पुर्याउन आग्रह गरेका छन्।
उनले कुनै पनि विवादलाई हिंसा वा उत्तेजनाको माध्यमबाट नभई संवाद, संयमता र कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्। सबै समुदायले जिम्मेवार भूमिका निर्वाह गरे मात्र सामाजिक सद्भाव र राष्ट्रिय एकता थप सुदृढ हुने उनको भनाइ रहेको रास्वपाले जनाएको छ।
रास्वपाले पछिल्ला घटनाका कारण समाजमा विभाजनको वातावरण सिर्जना हुन नदिन सबै पक्षलाई संयम अपनाउन तथा शान्तिपूर्ण ढंगले आफ्ना धारणा राख्न अपिल गरेको छ। पार्टीले आगामी दिनमा पनि सामाजिक सद्भाव प्रवर्द्धनका लागि विभिन्न समुदायसँग संवादलाई निरन्तरता दिने जनाएको छ।
