काठमाडौं, साउन १५ – शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुमवासी बस्ती हटाउने क्रममा प्रभावित भएका बालबालिकाको शिक्षामा कुनै असर पर्न नदिइने बताएका छन्।
शुक्रबार राष्ट्रियसभामा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री पोखरेलले प्रभावित विद्यार्थीहरूको निरन्तर अध्ययन सुनिश्चित गर्न विभिन्न विद्यालयमा स्थानान्तरण गरी पठनपाठनको व्यवस्था मिलाइएको जानकारी दिए।
उनका अनुसार बालाजुस्थित श्री बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयका ११६ जना विद्यार्थीलाई तरुण माध्यमिक विद्यालयमा तथा श्री बालकल्याण माध्यमिक विद्यालयका १५४ जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालय, पकनाजोलमा अध्ययनको व्यवस्था गरिएको छ।
यस्तै, कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा रहेका १० जना बालबालिकालाई प्याब्सन काठमाडौं महानगरको सहयोगमा आवासीय सुविधासहित पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने व्यवस्था गरिएको मन्त्री पोखरेलले बताए।
त्यसैगरी, खरिपाटी, बोडे र इचङ्गु होल्डिङ सेन्टरमा रहेका ५९ जना बालबालिकालाई उनीहरूले रोजेको विद्यालयमा भर्ना गरिएको छ। उनीहरूका लागि विद्यालय आउजाउ गर्न सवारी सुविधा, विद्यालय पोसाक, झोला, स्टेशनरी, पानीको बोतल, खाजा, टिफिन बक्स तथा सरसफाइका सामग्री उपलब्ध गराइएको छ। साथै खेलकुद सामग्री पनि वितरण गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्री पोखरेलले गत असार २९ गते खरिपाटी र बोडेस्थित होल्डिङ सेन्टरको निरीक्षण गर्दै प्रभावित बालबालिकाका लागि आवश्यक थप शैक्षिक तथा व्यवस्थापकीय सहयोग गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत जानकारी दिएका छन्।
उनले सरकारले कुनै पनि बालबालिकाको शिक्षा बीचमै नरोकिने वातावरण बनाउन आवश्यक समन्वय र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
