महोत्तरी, साउन १६ – महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानीमा स्थानीय सुकुमवासी तथा अव्यवस्थित बसोबासीले झुटा मुद्दा फिर्ताको माग गर्दै शनिबार बिहानदेखि बिपी राजमार्गमा चक्काजाम गरेका छन्। आन्दोलनका कारण पूर्व–पश्चिम जोड्ने व्यस्त राजमार्गमा लामो सवारी जाम भएको छ भने सयौं यात्रु गन्तव्यमा पुग्न सकेका छैनन्।
आन्दोलनकारीले जेठ ११ गते वन प्रशासनसँग भएको घटनापछि स्थानीयमाथि दर्ता गरिएका मुद्दा तत्काल खारेज गर्नुपर्ने, घटनामा संलग्न डिभिजन वन कार्यालयका जिम्मेवार अधिकारीमाथि कारबाही गर्नुपर्ने र यसअघि प्रशासनसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्।
यसअघि सर्वदलीय बैठकले मुद्दा फिर्ताका लागि प्रशासनलाई तीन दिनको समय दिएको थियो। तर, जिल्ला प्रशासन कार्यालयमा भएको छलफल निष्कर्षविहीन बनेपछि समयसीमा सकिएलगत्तै स्थानीय आन्दोलनमा उत्रिएका हुन्। प्रशासनले भने मुद्दा अनुसन्धानको चरणमा रहेकाले तत्काल फिर्ता लिन नमिल्ने अडान दोहोर्याएको छ।
प्रहरीका अनुसार कालापानी घटनासम्बन्धी मुद्दा असार १९ गते नै दर्ता भइसकेको छ र अनुसन्धान जारी रहेको छ। आन्दोलनका कारण राजमार्गको आवागमन प्रभावित बनेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
वन अतिक्रमण हटाउने अभियानबाट सुरु भएको विवाद
कालापानी विवाद वन क्षेत्र खाली गराउने सरकारी अभियानका क्रममा सुरु भएको हो। जेठ ११ गते वन कर्मचारी सूचना टाँस्न पुगेपछि स्थानीयले विरोध गर्दै उनीहरूलाई केही समय नियन्त्रणमा लिएका थिए। त्यसक्रममा वन कार्यालयको सरकारी गाडीमा आगजनी भएको थियो भने अवस्था नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो।
स्थानीयले आफूहरू पुस्तौंदेखि बसोबास गर्दै आएको जग्गाको लालपूर्जा सुनिश्चित गर्नुपर्ने माग गर्दै आएका छन्। घटनापछि भएको सहमतिविपरीत अहिले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको भन्दै उनीहरूले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।
