काठमाडौं, साउन १६ – नेपाल आयल निगमले बजारमा एलपी ग्यासको आपूर्ति नियमित र सहज रहेको जनाएको छ। पछिल्ला दिनमा ग्यास अभाव भएको भन्ने समाचार तथा हल्ला फैलिन थालेपछि निगमले आधिकारिक धारणा सार्वजनिक गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा सञ्चय नगर्न आग्रह गरेको हो।
निगमका अनुसार १४.२ केजी क्षमताको ग्यास सिलिन्डरको नयाँ बिक्री–वितरण व्यवस्था लागू भएपछि केही स्थानबाट ग्यास नपाएको गुनासो प्राप्त भएको छ। सोही कारण सबै ग्यास उद्योगलाई बजारमा सहज आपूर्ति कायम राख्न तथा घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर व्यवस्थित रूपमा बिक्री गर्न निर्देशन दिइएको छ। खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको विवरण राखेर पारदर्शी रूपमा वितरण गर्न पनि उद्योग र विक्रेतालाई आग्रह गरिएको छ।
काठमाडौं उपत्यकामा केही ग्यास उद्योगको माग बढेकाले १६ साउनदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिक्री–वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ।
निगमले एलपी ग्यासको आयात र वितरण नियमित रूपमा भइरहेकाले बजारमा अभावको अवस्था नरहेको स्पष्ट पारेको छ। यदि कुनै उपभोक्ताले कार्यालय समयमा पनि ग्यास प्राप्त गर्न नसके हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गरी जानकारी दिन आग्रह गरिएको छ। साथै, कृत्रिम अभावको अवस्था सिर्जना हुन नदिन आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न सबै उपभोक्तालाई अपिल गरिएको छ।
