काठमाडौं, साउन १७ – पाकिस्तानको कराकोरम हिमशृङ्खलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहित अन्य दिवंगत आरोहीहरूको शव आइतबार क्याम्प–१ सम्म ल्याउने तयारी गरिएको छ।
उद्धारमा खटिएको ग्राउन्ड टिमका अनुसार पहिलो चरणमा शवहरूलाई क्याम्प–१ मा सुरक्षित रूपमा झारिनेछ। त्यसपछि मौसम अनुकूल रहे सोमबार जापानी क्याम्पसम्म पुर्याइने योजना रहेको जनाइएको छ।
टोलीले जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धार टोली र शवहरूलाई थप सुरक्षित स्थानमा सार्ने तयारी पनि गरेको छ। मौसम र हिमालको अवस्था अनुकूल भए उक्त प्रक्रिया सहज रूपमा अघि बढ्ने विश्वास गरिएको छ।
उद्धार टोलीले दिवंगत आरोहीहरूको शव सम्मानपूर्वक स्वदेश फर्काउने लक्ष्यका साथ अभियान सञ्चालन गरिरहेको जनाएको छ।
गत १४ साउन बिहीबार ब्रोड पिक क्षेत्रमा आएको भीषण हिमपहिरोमा निर्मल पुर्जाको नेतृत्वमा रहेको टोलीका १० जना आरोही बेपत्ता भएका थिए। तीमध्ये ६ जना नेपाली थिए। निर्मल पुर्जाको निधन भएको पुष्टि शनिबार मात्र भएको थियो भने अन्य बेपत्ताको खोज तथा उद्धार कार्य अझै जारी रहेको छ।
