संकटका सारथी ऋषि धमलाः जहाँ समस्या, त्यहाँ धमला !


संकटका सारथी ऋषि धमलाः जहाँ समस्या, त्यहाँ धमला !
  • केदार अधिकारी
  • श्रावण १७, २०८३

काठमाडौँ । नेपाली पत्रकारिता क्षेत्रमा एउटा यस्तो नाम छ, जसलाई न त कुनै भौगोलिक सीमाले छेक्न सक्छ, न त कुनै संकटको डरले नै रोक्न सक्छ। देशमा जहाँ जनता रुन्छन्, जहाँ अन्याय र अत्याचारको आँधी चल्छ- त्यहाँ सबैभन्दा अगाडि खडा हुने एउटै नाम हो- ऋषि धमला।
विक्रम संवत् २०२७ साल कार्तिक २७ गते धादिङमा जन्मिएका धमला आज एक पत्रकार वा सञ्चारकर्मी मात्र रहेनन्, उनी उत्पीडित, दुःखी र असहाय नेपालीका लागि आशाका पुञ्ज र संकटमोचक नायकका रूपमा स्थापित भइसकेका छन्। रिपोर्टर्स क्लब नेपालका संस्थापक तथा नेपाली पत्रकारिता क्षेत्रका प्रभावशाली व्यक्तित्व धमलाले लामो समय मिडिया जगतमा राज गरे। तर, पछिल्लो समय उनी माइक र क्यामेरामा मात्र सीमित छैनन्– ‘स्वतन्त्र नागरिक अभियान’को अध्यक्षता ग्रहण गरी अभियानको झण्डा बोकेर देशैभरका बस्ती–बस्ती र गाउँ–गाउँमा जनताको घाउमा मलम लगाउन पुगिरहेका छन्।

नेपालमा जब–जब राष्ट्रिय संकट वा विपत्ति आउँछ, राज्यका संयन्त्रहरू सुस्त देखिन्छन्। तर ऋषि धमलाको गति भने झन् तीव्र हुन्छ।

यसैबीच, हालै पूर्वी तराई–मधेशका जिल्लाहरूमा धार्मिक तथा सामाजिक सद्भाव खलबलिने गम्भीर परिस्थिति सिर्जना भएको थियो। सम्प्रदायहरूबीच द्वन्द्व बढाउने प्रयास भइरहँदा देशका ठूला नेताहरू मौन दर्शक बनेका थिए। तर, ऋषि धमलाले असाधारण हिम्मत र कूटनीतिक सुझबुझ देखाए।

उनले काठमाडौँको माइतीघर मण्डलमा हिन्दु, मुस्लिम, बौद्ध, इसाईलगायतका सबै धार्मिक गुरुहरूलाई एकै थलोमा जम्मा गराएर भव्य शान्ति र्याली र धार्मिक एकता सभाको आयोजना गरे।

राजधानीबाट शान्ति र बन्धुत्वको सन्देश दिएलगत्तै धमला रोकिएनन्, उनी सोझै मधेसको अशान्त भूमिमा झरे।

बारा र पर्साका संवेदनशील क्षेत्रहरूमा पुगेर उनले स्थानीय प्रशासन, उद्योगी, व्यवसायी र सर्वसाधारणसँग छलफल गराए। सहमति, सहकार्य र भाइचाराको वातावरण पुनः कायम गराउन उनले अहम् भूमिका खेले।

‘जब नेपाली–नेपालीबीचको एकता कायम रहन्छ, तब मात्र नेपाल राष्ट्र सुरक्षित रहन्छ,’ भन्ने सन्देश बोकेर धमलाले तराईको आगो निभाउने काम गरे।

यस्तै, हिंसात्मक घटनामा परी ज्यान गुमाएका निर्दोष नागरिकहरू ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गणेश यादवको घरमै पुगेर धमलाले उनीहरूका परिवारलाई व्यक्तिगत तथा अभियानका तर्फबाट आर्थिक एवं नैतिक साहानुभूति प्रदान गरे।

मृतकका परिवारलाई अँगालो हालेर आँसु पुछिदिँदै धमलाले भने- ‘तपाईंहरू एक्लो हुनुहुन्न, ऋषि धमला र सिङ्गो देश तपाईंहरूको साथमा छ।’

धमलाले तराईका विभिन्न अस्पताल पुगेर हिंसात्मक घटनामा घाइते भई उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै भने, ‘घाइतेहरुको उपचारमा कुनै कमी हुनु हुँदैन ।’

ऋषि धमलाको योगदान केवल तत्कालीन संकट समाधानमा मात्र सीमित छैन। पहाडी तथा दुर्गम क्षेत्रमा आयोजना गरिने स्वास्थ्य शिविरहरू, विपन्न बिरामीहरूका लागि अस्पतालमा निःशुल्क उपचारको पहल र आपतकालीन रक्तदान कार्यक्रमहरूमा धमलाको सक्रियता लोभलाग्दो छ।

साहु र सञ्चालकहरूको ठगीमा परेर सडकमा पुगेका हजारौँ सहकारी तथा लघुवित्त पीडितहरूको आवाजलाई सिंहदरबारसम्म पुर्‍याउने कार्यमा धमलाले देशव्यापी नेतृत्वदायी भूमिका खेलेका छन्। पीडित महिला र किसानहरू रुँदै उनीकहाँ पुग्दा धमलाले तिनको आवाजलाई सरकारको कानसम्म मात्र पुर्‍याएनन्, तिनलाई न्याय नदिलाएसम्म विश्राम नलिने अठोट पनि जनाए।

यस्तै, दूरदराजका गाउँहरूमा जहाँ बालबालिका लेखपढ गर्नबाट वञ्चित छन्, त्यहाँ धमला स्वयम् पुगेर शैक्षिक सामग्री वितरण गर्ने, छात्रवृत्ति मिलाउने, निःशुल्क पढाउने र राज्यलाई खबरदारी गर्ने काममा निरन्तर खटिएका छन्।

पछिल्लो समय तराई–मधेस, खासगरी बारा र पर्सा जिल्लामा मानवीय चाप र सुक्खाका कारण खानेपानीको हाहाकार मच्चियो। जनता तिर्खाले काकाकुल भइरहेका बेला न त स्थानीय सरकार प्रभावकारी देखियो, न त प्रदेश सरकारले नै समयमा ध्यान दियो। तर, उही जुझारु र निडर व्यक्तित्व ऋषि धमला सुक्खाग्रस्त बस्तीमै पुगे। स्थानीय प्रशासन, प्रदेश सरकार र संघीय मन्त्रीहरूलाई टेलिफोनबाटै झक्झक्याउँदै तत्काल खानेपानीको व्यवस्था गर्न बाध्य पारे।

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प होस् या तराईको बाढी वा पहाडको पहिरो- धमला सधैँ राहतका बोराहरू बोकेर पीडितको आँगनमा पुग्ने पहिलो व्यक्ति बन्ने गरेका छन्।
चर्चित अभिनेत्री एलिजा गौतमसँग विवाह बन्धनमा बाँधिएका धमला दुई सन्तानका जिम्मेवार पिता पनि हुन्।

पारिवारिक जीवन र सामाजिक दायित्वलाई सँगै जोडेर उनी निरन्तर अगाडि बढिरहेका छन्।

पत्रकारिताको इतिहासमा धेरैले कलम चलाए, धेरैले माइक समाते। तर, पत्रकारिताको सिमाना नाघेर शुद्ध मानवीय सेवा, राष्ट्रिय एकता र पीडितको हकहितका लागि आफ्नो ज्यान जोखिममा राखेर मैदानमा खट्ने ऋषि धमलाजस्ता व्यक्तित्व विरलै भेटिन्छन्।

हिजोका ती कठिन राजनीतिक संक्रमणकालका दिनहरूलाई फर्केर हेर्दा ऋषि धमलाको योगदान झनै उच्च र अतुलनीय देखिन्छ। देशमा लोकतन्त्र र गणतन्त्रको स्थापनाका लागि राजनीतिक दलहरू अलमलमा परेका बेला धमलाले छापादेखि विभिन्न सञ्चार माध्यम र ‘रिपोर्टर्स क्लबको मञ्च’मार्फत निरन्तर खबरदारी गरेका थिए।

देशमा द्वन्द्व समाप्त भई शान्ति प्रक्रिया अगाडि बढ्दै गर्दा संविधानसभाको चुनाव समयमै हुनुपर्छ र नयाँ संविधान छिटोभन्दा छिटो लेखिनुपर्छ भनेर नेताहरूलाई एकै ठाउँमा ल्याएर खबरदारी गर्ने मुख्य सूत्रधार धमला नै थिए। हिमाल, पहाड, तराई, मधेस, उत्पीडित, दलित, महिला र पछाडि पारिएका सम्पूर्ण वर्गका हकअधिकार नयाँ संविधानमा सुनिश्चित हुनुपर्छ भन्दै उनले हरेक राजनीतिक बहसको केन्द्रमा जनताका मुद्दालाई स्थापित गराए।
यदि हिजोका दिनमा ऋषि धमलाले त्यसरी शीर्ष नेताहरूलाई दिनरात नभनी दबाब नदिएको भए र संविधान निर्माणका पक्षमा आँधीबेहरी नसृजना गरेको भए देशले यति छिटो लोकतान्त्रिक संविधान पाउने थिएन। उनी केवल राजनीतिक घटनाक्रमका रिपोर्टर मात्र भएनन्, बरु संविधान निर्माणका एक अदृश्य तर शक्तिशाली उत्प्रेरक बने।

देशमा जब–जब संकटको बादल मडारिन्छ, जनताले सधैँ एउटै अनुहार सम्झिन्छन्- ऋषि धमला। गाउँ–गाउँका दुःखी, सोझा र असहाय जनताका लागि ऋषि धमला एक सञ्चारकर्मी मात्र होइनन्, उनी एक ‘जीवन्त आशा’ र ‘जनताका वास्तविक नायक’ हुन्। धमलाको यो अभियान र जोश निरन्तर अघि बढिरहोस् भन्ने आम नेपालीले कामना गरिरहेका छन् ।