गृहमन्त्रीसँग हिन्दू मोर्चाको पुन: वार्ता र मौखिक सहमति


गृहमन्त्रीसँग हिन्दू मोर्चाको पुन: वार्ता र मौखिक सहमति
  • केदार अधिकारी
  • श्रावण १७, २०८३

१४ साउन, जनकपुरधाम । संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुन: वार्ता भएको छ । गृहमन्त्री सुधन गरुङग आज जनकपुरस्थित यात्री निवासमा बसेको वार्तामा पुन: मौखिक सहमति भएको छ ।

पुन: केही  बुँदा थपेर १८ बुँदा पुर्‍याइएको बताइएको छ । मागपत्र गृहमन्त्री गुरुङलाई मोर्चाको तर्फबाट पेश गरिएको छ । यद्यपि शनिबार राति भएको वार्ताको १३ बुँदालाई स्पष्ट पार्ने काम वार्ताबाट भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले बताए ।

‘हिजोको विषयमा केही अस्पष्ट, लेटरप्याडमा हस्ताक्षरको कुरामा अस्पष्ट रहेको कुराहरू उहाँहरूले राख्नु भयो,’ उनले भने, ‘गृहममन्त्रीजीले आफ्ना कुरा राखेर वार्ता टुंगियो । यो वर्ता १३ बुँदामा क्लियारिटी हो । मिडियामा जुन कुराहरू आएको छ, त्यसबारे गृहमन्त्रीज्यूले स्पष्ट पार्नुभयो । उहाँहरू सन्तुष्ट हुनु भएको छ । आन्दोलनको कार्यक्रम फिर्ता लिनु भएको छ ।’

हिन्दू सम्राट सेनाको केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले केही केही कुराहरू सच्याएको बताए । वार्ता सकिएपछि सञ्चारकर्मीको जिज्ञासामा उनले ‘केही कुराहरू सच्याइएको छ । मागहरू सम्बोधन गर्ने गृहमन्त्रीजीले आश्वासन दिनु भएको छ । अब गृहमन्त्रीले काहीकतैपनि गोली हान्न सक्नुहुन्न भनेर प्रतिबद्धता गर्नु भएको छ ।’

शनिबार राति गृहमन्त्रीलाई पेश गरिएको १३ बुँदे मागपत्रमा भने पहिलो नम्बरमा हिन्दू राष्ट्र कायम गर्ने र अन्तिममा आन्दोलनको कार्यक्रम फिर्ता लिने लगायतको बुँदा उल्लेख थियो ।