हात्तीको आक्रमणले झापा त्रसित, १६ वर्षमा ८० जनाको ज्यान गयो


हात्तीको आक्रमणले झापा त्रसित, १६ वर्षमा ८० जनाको ज्यान गयो
  • नवकिरण
  • श्रावण १७, २०८३

झापा, साउन १७ – झापामा मानव र जङ्गली हात्तीबीचको द्वन्द्व लगातार बढ्दै जाँदा दुवै पक्षले ठूलो क्षति बेहोर्नुपरेको तथ्याङ्क सार्वजनिक भएको छ। डिभिजन वन कार्यालय भद्रपुरका अनुसार पछिल्लो १६ वर्षमा हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन्, जबकि सोही अवधिमा २८ वटा जङ्गली हात्ती पनि मानिससँगको द्वन्द्वका कारण मारिएका छन्।

वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार विसं २०६७ असारदेखि २०८३ असार मसान्तसम्म ७० नेपाली र १० गैरनेपाली नागरिक हात्तीको आक्रमणमा परी मृत्यु भएका छन्। पछिल्ला वर्षहरूमा मानवीय क्षति झन् बढ्दो क्रममा रहेको कार्यालयको अभिलेखले देखाएको छ।

तथ्याङ्कअनुसार २०८० साल सबैभन्दा बढी क्षति भएको वर्ष बनेको थियो। त्यस वर्ष तीन महिलासहित आठ जनाले ज्यान गुमाएका थिए। यस्तै, आर्थिक वर्ष २०८२/८३ मा मात्रै छ जनाको मृत्यु भएको छ। सरकारले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराएको वन कार्यालयले जनाएको छ।

वन अधिकारीहरूका अनुसार वन क्षेत्रको अतिक्रमण, बस्ती विस्तार, हात्तीको प्राकृतिक आवतजावत मार्ग बन्द हुनु तथा खेतीबालीतर्फ हात्ती आकर्षित हुनु मानव–हात्ती द्वन्द्व चर्किनुका प्रमुख कारण हुन्।

द्वन्द्व न्यूनीकरणका लागि वन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय र समुदायसँग मिलेर हात्तीको गतिविधि निगरानी, उद्धार तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। वन्यजन्तु र मानव दुवैको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको सरोकारवालाले बताएका छन्।