काठमाडौं, साउन २० – देशभर एलपीजी ग्यासको आपूर्ति प्रभावकारी बनाउन नेपाल आयल निगमले विशेष क्विक रेस्पोन्स टिम गठन गरी परिचालनमा ल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि गठन गरिएको उक्त टोलीले आजदेखि औपचारिक रूपमा काम सुरु गरेको निगमले जनाएको छ।
ग्यासको वितरणमा कुनै समस्या देखिए तत्काल समाधान गर्ने उद्देश्यले उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित संयुक्त संयन्त्र तयार गरिएको हो।
टिममा उद्योग मन्त्रालयका मङ्गल बिष्ट, नेपाल आयल निगमका इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी तथा ग्यास उद्योगका प्रतिनिधि आयुस नेपाल र कुलप्रसाद राई सदस्य रहेका छन्।
निगमका अनुसार पछिल्ला दिनमा विभिन्न स्थानबाट ग्यास नपाएको भन्दै गुनासो बढेपछि उपभोक्ताको समस्या तत्काल सम्बोधन गर्न यो संयन्त्र स्थापना गरिएको हो। टोलीले प्राप्त गुनासोको आधारमा सम्बन्धित उद्योग, डिलर र व्यवसायीसँग समन्वय गरी आवश्यक कदम चाल्नेछ।
कार्यालय समयभित्र हटलाइनमा आउने उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गरिने जनाइएको छ। उपभोक्ताले एलपीजी ग्यास आपूर्तिसम्बन्धी कुनै पनि समस्या परे नेपाल आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन्। प्राप्त गुनासोमाथि क्विक रेस्पोन्स टिमले तत्काल आवश्यक समन्वय गरी समाधान प्रक्रिया अघि बढाउने निगमले जनाएको छ।
