प्रतिपक्षको आवाज सुने मात्र सरकार सफल हुन्छ : हर्क साम्पाङ


प्रतिपक्षको आवाज सुने मात्र सरकार सफल हुन्छ : हर्क साम्पाङ
  • नवकिरण
  • श्रावण २२, २०८३

काठमाडौं, साउन २२ – प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले सरकारको प्रभावकारिता प्रतिपक्षको आवाजलाई कत्तिको सम्मान र सम्बोधन गर्छ भन्ने विषयमा निर्भर रहने बताएका छन्। उनले प्रतिपक्षका धारणा बेवास्ता गर्ने सरकार दीर्घकालीन रूपमा सफल हुन नसक्ने जिकिर गरे।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले लोकतान्त्रिक शासन व्यवस्थामा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सरकार र प्रतिपक्षबीच रचनात्मक संवाद आवश्यक रहेको बताए। विगतका अनुभवले पनि प्रतिपक्षलाई उपेक्षा गर्दा सरकार सञ्चालनमा समस्या देखिएको उनको भनाइ थियो।

उनले सांसदहरू जनताको प्रतिनिधिका रूपमा संसदमा पुगेकाले उनीहरूले उठाएका जनचासोका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे। सरकार जनताप्रति उत्तरदायी बन्न संसदमा उठेका प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने उनले बताए।

साम्पाङले ग्यास आपूर्तिमा देखिएको समस्याप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै उपभोक्ताले कर र भ्याट तिरेर ग्यास खरिद गरिरहे पनि आपूर्तिकर्ताले समयमै भुक्तानी किन नपाएको भन्ने प्रश्न उठाए। उनले ग्यास आपूर्ति अवरुद्ध हुनुको वास्तविक कारण सार्वजनिक गर्न सरकारसँग माग गरे।

सरकारले यस विषयमा आफ्नो आधिकारिक धारणा संसद र जनतासामु स्पष्ट रूपमा राख्नुपर्ने भन्दै साम्पाङले आपूर्ति प्रणालीमा कुनै कमजोरी वा आर्थिक अनियमितता छ भने त्यसको निष्पक्ष छानबिन हुनुपर्ने आवश्यकता पनि औंल्याए।