स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र अस्पताल तोडफोड आरोपमा तीन जना पक्राउ


स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र अस्पताल तोडफोड आरोपमा तीन जना पक्राउ
  • नवकिरण
  • श्रावण २३, २०८३

कालिकोट, साउन २३ – कालिकोटको पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नुका साथै अस्पतालमा तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि अभद्र व्यवहार गर्ने तथा अनुमति बिना अस्पताल परिसरमा प्रवेश गरी विभिन्न सामानमा क्षति पुर्‍याउने कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश खत्रीले पक्राउ परेकामाथि घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

शुक्रबार दिउँसो पलाँता अस्पतालका मेडिकल अफिसर डा. अली हैदर रैन र नर्स शान्ता गिरीमाथि आक्रमण भएको बताइएको छ। घटनापछि पनि अस्पतालमा तोडफोड भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति केही व्यक्तिले अस्पतालको ढोका फोरेर फार्मेसीमा प्रवेश गरी औषधि राखिएका दराज तथा र्‍याकसमेत लडाएको दृश्य अस्पतालमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको छ।

घटनामा संलग्न अन्य व्यक्तिको संलग्नताबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।