|Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis
काठमाडौं, साउन २४ – सेयर बजारमा लगानीकर्ताको आत्मविश्वास अझै फर्किन नसक्दा नेप्सेमा लगातार गिरावट देखिएको छ। बजार सुधारका लागि सरकारी प्रयास भइरहे पनि त्यसको प्रभाव लगानीकर्ताको मनोबलमा तत्काल देखिन सकेको छैन।
साउनको तेस्रो साता पाँच दिन कारोबार हुँदा चार दिन नेप्से घट्यो भने एक दिन मात्रै बढ्यो। साताभर ३५.४३ अंकले घटेको नेप्से शुक्रबार २ हजार ६५७.४४ विन्दुमा पुगेको छ। यसअघि अघिल्लो साता पनि नेप्से ४९.०४ अंकले घटेको थियो।
बजार घटेसँगै कारोबार रकम र बजार पुँजीकरणमा समेत कमी आएको छ। यो साता २१ अर्ब ४४ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ भने कुल बजार पुँजीकरण ४५ खर्ब ५४ अर्ब ३६ करोड रुपैयाँमा झरेको छ।
समग्र बजार कमजोर रहे पनि केही कम्पनीमा भने लगानीकर्ताको आकर्षण देखिएको छ। सोलु हाइड्रोपावर, अपर लोहोरे खोला हाइड्रोपावर र एभरेस्ट कलरलगायतका कम्पनी सकारात्मक सर्किटमा कारोबार भएका छन्। १३ उपसमूहमध्ये अधिकांशमा गिरावट आएको छ।
यता, नेपाल धितोपत्र बोर्डले आईपीओको मूल्य निर्धारण प्रणालीमा सुधार गर्ने तयारी गरेको छ। कम्पनीको वास्तविक मूल्य, लगानीकर्ताको माग र बजार संकेतका आधारमा आईपीओ मूल्य तय गर्ने तथा बुक बिल्डिङ प्रणालीलाई थप व्यवस्थित बनाउने बोर्डको योजना छ।
दोस्रो बजार सुधारका लागि सेबोनले मार्जिन लेन्डिङ, इन्ट्राडे कारोबार, धितोपत्र सापटी र सर्ट सेलिङजस्ता नयाँ उपकरण ल्याउने विषयमा अध्ययन गर्न समिति गठन गरेको छ। यसैबीच, संसद् बैठक चलिरहेका बेला मोबाइल वा ल्यापटपबाट सेयर कारोबार नगर्न सांसदहरूलाई सभामुख डोलप्रसाद (डीपी) अर्यालले निर्देशन दिएका छन्।
