१३ सिलिन्डर ग्यास लुकाएर राखेको भेटिएपछि पसललाई ५० हजार जरिवाना


१३ सिलिन्डर ग्यास लुकाएर राखेको भेटिएपछि पसललाई ५० हजार जरिवाना
  • नवकिरण
  • श्रावण २५, २०८३

बाँके, साउन २५ – नेपालगन्जमा ग्यास लुकाएर राखेको अवस्थामा १३ वटा सिलिन्डर भेटिएपछि एक किराना पसल सञ्चालकलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा आइतबार बजार अनुगमन गर्दा ठूलो संख्यामा ग्यास सिलिन्डर लुकाएर राखिएको फेला परेको हो।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले पसलमा ग्यास लुकाएर राखिएको सूचनाका आधारमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा बिक्रीका लागि ननिकाली राखिएका १३ वटा ग्यास सिलिन्डर फेला परेको सहायक प्रजिअ गुरुङले जानकारी दिए।

ग्यासको अभाव भइरहेको समयमा सिलिन्डर लुकाएर राखेको पाइएपछि पसल सञ्चालकलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।

अनुगमनका क्रममा पसलमा अखाद्य तथा उपभोगका लागि अनुपयुक्त केही सामग्रीसमेत भेटिएको थियो। प्रशासनले बजारमा दैनिक उपभोग्य वस्तुको अनियमितता र कृत्रिम अभावसम्बन्धी गुनासो बढेपछि अनुगमनलाई निरन्तरता दिएको जनाएको छ।

केही दिनयता खाना पकाउने ग्यासको अभाव देखिएसँगै उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गर्दै आएका छन्। यस्तो अवस्थामा ग्यास लुकाउने तथा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि कारबाहीलाई प्रशासनले कडाइ गरेको छ।