काठमाडौं, साउन २५ – प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीको कार्यालयमा भएको भेटवार्ता करिब ४५ मिनेट चलेको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपाल–भारत सम्बन्धका साथै दुई देशबीचको पारस्परिक हित, विकास साझेदारी र सहकार्यका विभिन्न विषयमा छलफल भएको थियो।
भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले पनि नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिएका थिए। उनले दुवै देशको साझा हितका क्षेत्रमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखेका थिए।
प्रधानमन्त्री शाहले विभिन्न देशका राजदूतहरूसँग भेटवार्ता गर्ने क्रमलाई निरन्तरता दिएका छन्। यसअघि उनले सबै देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री शाहले सोमबार दिउँसो चिनियाँ राजदूतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। चिनियाँ राजदूतसँगको भेटका लागि दिउँसो ३ बजेको समय तय गरिएको छ।
