काठमाडौं, साउन २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले मुलुकमा देखिएको खाना पकाउने ग्यासको अभावबारे प्रतिनिधिसभामा कवितामार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद तामाङले ग्यास अभावका कारण सर्वसाधारणले भोगिरहेको समस्या र बजारमा देखिएको असमान वितरणलाई कविताको माध्यमबाट प्रस्तुत गरिन् ।
उनले घरमा खाना पकाउन आवश्यक ग्यास नहुँदा हातमा पैसा भएर पनि सर्वसाधारण समस्यामा परेको बताइन् । पहुँच भएका व्यक्तिहरूले एकैपटक धेरै सिलिन्डर लैजाने गरेको उल्लेख गर्दै उनले त्यसले सर्वसाधारणको दैनिकीमा थप कठिनाइ सिर्जना गरेको संकेत गरिन् ।
ग्यास लिनका लागि सर्वसाधारणले लामो दूरीसम्म खाली सिलिन्डर बोकेर धाउनुपरेको अवस्थाप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराइन् । विशेषगरी थानकोटलगायतका क्षेत्रका नागरिक खाली सिलिन्डर बोकेर बालाजु र टेकुसम्म पुग्नुपर्ने बाध्यता रहेको उनले कवितामार्फत सुनाइन् ।
सरकारले पर्याप्त ग्यास उपलब्ध हुने बताइरहे पनि जनताहरू भने रातदिन सिलिन्डर बोकेर सडकमा भौंतारिनुपरेको उनको भनाइ थियो ।
कविताको अन्त्यमा उनले नेपालमै पर्याप्त ग्यास उत्पादन तथा भण्डारणको व्यवस्था कहिले हुन्छ भन्ने प्रश्न उठाउँदै सरकारसँग दीर्घकालीन समाधान खोज्न आग्रह गरिन् ।
उनले हिमालको फेदीमा रहेको आफ्नै देशमा ग्यासका लागि नागरिकले यसरी दुःख पाउनुपर्ने अवस्था अन्त्य हुनुपर्ने सन्देश कवितामार्फत दिएकी छन् ।
