अदालतभित्र मिटरब्याज साहुविरुद्ध बहस, बाहिर पीडितको प्रदर्शनबीच महिलाले गरिन् आत्मदाहको प्रयास


अदालतभित्र मिटरब्याज साहुविरुद्ध बहस, बाहिर पीडितको प्रदर्शनबीच महिलाले गरिन् आत्मदाहको प्रयास
  • नवकिरण
  • श्रावण २७, २०८३

जनकपुरधाम, साउन २७ – मिटरब्याज पीडितहरूको आन्दोलनका क्रममा धनुषा जिल्ला अदालतअगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्।

बुधबार अदालत परिसरबाहिर मिटरब्याज पीडितहरूले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका बेला जनकपुरधाम–४ की फुलकुमारी रजकले अचानक आफ्नो शरीरमा पेट्रोल खन्याएकी थिइन्।

पेट्रोल शरीरमा खन्याएपछि प्रहरीले तत्काल हस्तक्षेप गर्दै उनलाई आत्मदाह गर्नबाट रोकेको थियो। घटनापछि अदालतअगाडिको वातावरण केही समय तनावपूर्ण बनेको थियो।

त्यस समयमा धनुषा जिल्ला अदालतभित्र मिटरब्याजसम्बन्धी मुद्दामा थुनछेक बहस चलिरहेको थियो। गोपाल साह, रेखा साह र हरेराम साहविरुद्धको मुद्दामा बहस भइरहेको हो।

अदालतभित्र कानुनी प्रक्रिया अघि बढिरहँदा बाहिर मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै प्रदर्शन गरिरहेका थिए। पीडितहरूले आफूहरूलाई न्याय दिनुपर्ने र मिटरब्याजसम्बन्धी समस्या समाधान गर्नुपर्ने माग राखेका छन्।

प्रहरीको समयमै हस्तक्षेपका कारण महिलाको आत्मदाहको प्रयास असफल भएको हो। घटनाबारे थप विवरण आउन बाँकी छ।