‘सरकारले अहिले भविष्यको जग बलियो बनाउँदैछ’ : रवि लामिछाने


‘सरकारले अहिले भविष्यको जग बलियो बनाउँदैछ’ : रवि लामिछाने
  • नवकिरण
  • श्रावण २७, २०८३

काठमाडौं, साउन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले अहिलेको कामबाट तत्कालै परिणाम नदेखिए पनि दीर्घकालीन परिवर्तनका लागि आधार तयार गरिरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले सरकारको चार महिनाको कामलाई तत्काल देखिने उपलब्धिका आधारमा मात्रै मूल्यांकन गर्न नहुने बताए ।

उनले आगामी १५ देखि २० वर्षसम्म देशको विकास र शासन व्यवस्थामा प्रभाव पार्ने गरी सरकारले बलियो आधार निर्माण गरिरहेको दाबी गरे । अहिले भइरहेको कामलाई उनले भविष्यका लागि जग तयार गर्ने प्रक्रियाका रूपमा प्रस्तुत गरे ।

लामिछानेले संसदमा युवाको सहभागिता बढ्नु र ३५–३६ वर्षकै उमेरमा युवा प्रधानमन्त्री बन्नु नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण उपलब्धि भएको बताए ।

रास्वपा अरू कुनै राजनीतिक शक्तिको विकल्प खोज्नेभन्दा आफैं वैकल्पिक शक्ति बन्ने लक्ष्यमा अघि बढिरहेको उनको भनाइ थियो । पार्टीले आगामी दिनमा आफूलाई निर्विकल्प शक्तिका रूपमा स्थापित गर्ने उद्देश्य राखेको उनले बताए ।

युवा सांसद र मन्त्रीहरूका लागि अहिले पदमा रमाउने नभई काम गरेर परिणाम देखाउने समय भएको लामिछानेले बताए । युवाको नेतृत्वले अपेक्षित परिणाम दिन नसके भविष्यमा अनुभवहीन युवाबाट राजनीति सम्भव हुँदैन भन्ने भाष्य स्थापित हुन सक्ने भन्दै उनले जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्न आग्रह गरे।