जनकपुरधाम, साउन २९ – कर्तव्य ज्यान मुद्दामा सजाय पाएर ४३ वर्षदेखि फरार रहेका सिराहाका ८० वर्षीय ठकाई यादव अन्ततः प्रहरीको नियन्त्रणमा परेका छन्। लामो समयदेखि फरार रहेका यादव गाउँकै शिवमन्दिरमा पुजारी बनेर बस्दै आएको अवस्थामा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीका यादव २०४१ सालमा भएको हत्याको घटनामा संलग्न थिए। वैशाखे मेलाका क्रममा मन्दिरमा बोका चढाउने विषयमा विवाद भएपछि रजिन्द्र यादवमाथि सामूहिक आक्रमण भएको थियो।
प्रहरीका अनुसार यादवसहित ११ जनाले रजिन्द्रलाई घेरा हालेर कुटपिट गरेका थिए। गम्भीर कुटपिटबाट रजिन्द्रको मृत्यु भएपछि घटनामा संलग्नहरूमाथि कर्तव्य ज्यान मुद्दा चलाइएको थियो।
मुद्दा किनारा लाग्ने क्रममा यादवलाई उच्च अदालतले एक वर्ष कैद सजाय सुनाएको थियो। तर सजाय तोकिएपछि उनी पक्राउ नपरी लामो समयदेखि फरार रहँदै आएका थिए।
प्रहरीले खोजीका क्रममा यादव आफ्नै गाउँको शिवमन्दिरमा साधु तथा पुजारीको भेषमा बस्दै आएको पत्ता लगाएको जनाएको छ। त्यसपछि बिहीबार उनलाई मन्दिरबाटै पक्राउ गरिएको हो।
पक्राउ परेका यादवलाई आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालत सिराहामा बुझाइएको छ। प्रहरीले घटनामा संलग्न अन्य फरार प्रतिवादीहरूको भने मृत्यु भइसकेको जनाएको छ।
