जनकपुरधाम, साउन ३० – धनुषामा ग्यास सिलिन्डर लुकाएर राखेको आरोपमा एक ग्यास विक्रेताको स्टोरमा प्रहरीले छापा मारेको छ। छापाका क्रममा विभिन्न ब्रान्डका १३१ थान ग्यास सिलिन्डर बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर अरविन्द साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले धनुषा ग्यास बिक्रेता संघका अध्यक्ष तथा जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष फूलदेव पण्डितको स्टोरमा छापा मारेको हो।
प्रहरीका अनुसार ग्यास सिलिन्डर लुकाएर राखी अभावको समयमा महँगो मूल्यमा बिक्री भइरहेको सूचनाका आधारमा स्टोरमा खोजतलास गरिएको थियो। सो क्रममा स्टोरभित्र विभिन्न कम्पनीका १३१ वटा सिलिन्डर फेला परेको प्रहरीले बताएको छ।
बरामद भएका सिलिन्डरको स्रोत, भण्डारणको अवस्था तथा बिक्री वितरणसम्बन्धी विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
पण्डित धनुषा ग्यास बिक्रेता संघको अध्यक्षसँगै जनकपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा समेत रहेका छन्।
घटनाबारे थप तथ्य संकलन तथा आवश्यक कानुनी प्रक्रिया अघि बढिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
