काठमाडौं, वैशाख १७ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन्। सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा आज दिउँसो १ बजे उनलाई प्रज्ञा प्रतिष्ठानबाट प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ लगत्तै चौधरीलाई डिल्लीबजार कारागार लगिएको थियो। तर, सर्वोच्च अदालतको उक्त पत्र अनधिकृत भएको खुलेपछि अर्को पत्र लेखेर उनलाई छाड्न निर्देशन दिइएको थियो।
डिल्लीबजार कारागारमा केही समय राखिएपछि उनलाई साँझ रिहा गरिएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार उक्त घटनासम्बन्धी आन्तरिक छानबिन सुरु गरिएको छ।
यो घटनाले न्याय प्रणालीमा देखिएको समन्वयहीनतालाई फेरि एकपटक सतहमा ल्याएको छ।