मजदुर दिवसमा प्रधानमन्त्री ओलीको चेतावनी : ‘राजतन्त्र फर्काउने सपना देख्नेलाई खबरदारी जरुरी’


मजदुर दिवसमा प्रधानमन्त्री ओलीको चेतावनी : ‘राजतन्त्र फर्काउने सपना देख्नेलाई खबरदारी जरुरी’
  • नवकिरण
  • बैशाख १८, २०८२

काठमाडौं, वैशाख १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरूविरुद्ध श्रमजीवी वर्ग एकताबद्ध भएर उभिनुपर्ने बताएका छन्।

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध अराजक गतिविधि भइरहेको उल्लेख गर्दै श्रमिक वर्गलाई सचेत हुन आह्वान गरे।

उनले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनालाई उदाहरण दिँदै राजतन्त्र पक्षधरहरूले पुनः असहिष्णु र अराजक प्रवृत्ति देखाएको बताए। ‘शान्ति कायम गर्न उभिएका प्रहरीलाई गाडीले किच्न खोज्नेहरूलाई सत्ता सुम्पिनु गम्भीर खतरा हो,’ ओलीले भने।

प्रधानमन्त्रीले श्रमिक वर्गको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु सबैको दायित्व भएको भन्दै ‘रगत पसिना बगाएर ल्याइएको प्रणालीलाई जोगाउन हामी प्रतिबद्ध छौं,’ भने।

कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेल र उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकाललगायतले पनि सम्बोधन गरेका थिए।