काठमाडौं, वैशाख १८ – पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सत्तारुढ नेताहरूको कार्यशैली पूर्वराजाहरूको जस्तै भएको आरोप लगाएका छन्।
नेपाल समाजवादी ट्रेड युनियन महासंघ र नेपाल समाजवादी नेवा संघले बिहीबार राजधानीमा संयुक्त रूपमा आयोजना गरेको १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रममा बोल्दै डा. भट्टराईले सत्ता पुगेपछि श्रमिकको हकहितका विषय बेवास्ता गर्ने प्रवृत्तिको आलोचना गरे।
उनले शारीरिक र बौद्धिक श्रम गर्ने सबै श्रमिकको सम्मान हुनुपर्ने बताए। “मजदुरहरूले लडेर ल्याएको ८ घण्टा काम, ८ घण्टा आराम, ८ घण्टा मनोरञ्जनको अधिकार अझै व्यवहारमा लागू हुन सकेको छैन”, उनले भने।
भट्टराईले अहिले श्रम गरेर खानेभन्दा बिचौलिया र कमिसनखोरको बिगबिगी भएको पनि टिप्पणी गरे। “संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि मजदुरका समस्या समाधान हुन नसक्नु दुःखद हो”, उनले भने।
उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद् स्थापनाको आवश्यकता औंल्याउँदै पुराना दलहरूले जनताको समस्या समाधान गर्न नसकेको दाबी गरे।
कार्यक्रममा नेसपा नयाँ शक्तिका केन्द्रीय सदस्य एवं नेपाल समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष विष्णु पौडेलले हालको न्यूनतम पारिश्रमिक १७,५०० रुपैयाँले मजदुरलाई पर्याप्त नहुने भन्दै रकम वृद्धि गर्न माग गरे।
त्यस्तै, नेसपाका सचिव भावना तामाङ, विज्ञ परिषद्का सदस्य अनुप सिंह सुवाल, मजदुर महासंघका इन्चार्ज तेजुलाल कर्ण लगायतले पनि श्रमिकको सम्मान र अधिकार सुनिश्चित गर्न जोड दिए।