ओडिसा, वैशाख १९ – भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा एक नेपाली विद्यार्थी प्रिसा साह मृत अवस्थामा फेला परेकी छन्।
भुवनेश्वरका प्रहरी आयुक्त एस. देव दत्त सिंहका अनुसार बिहीबार साँझ ७ बजेतिर प्रिसा साहको शव होस्टेलको कोठामा फेला परेको हो। घटनास्थलमा तत्काल फोरेन्सिक तथा प्रहरी टोली पुगेको र घटनालाई अप्राकृतिक मृत्युका रूपमा दर्ता गरिएको जानकारी उनले दिए।
मृतक विद्यार्थी नेपालको वीरगञ्ज निवासी भएको प्रहरी स्रोतले जनाएको छ। घटनाबारे अभिभावक र नेपालस्थित भारतीय दूतावासलाई जानकारी गराइएको समेत प्रहरी आयुक्तले बताएका छन्।
यसै सन्दर्भमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल सरकारद्वारा दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको निगरानी भइरहेको बताएकी छन्।
भारतका लागि नेपाली राजदूत डा. शंकर पी शर्माले सामाजिक सञ्जाल ‘एक्स’ मा प्रिसा साहको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय विदेश मन्त्रालय, ओडिसा सरकार, प्रहरी तथा विश्वविद्यालयसँग सम्पर्कमा रहेको जानकारी दिएका छन्।
उक्त संस्थानमै यसअघि फेब्रुअरी १६ मा नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टेलमै मृत फेला परेकी थिइन्।
हाल प्रहरीले घटनाको गम्भीरताका साथ अनुसन्धान अघि बढाइरहेको छ।